उमेश जङ्ग कार्की यूएई
सुनसरी समाज यूएईले भोटेकोसी बाढीपीडितको सहयोगार्थ आयोजना गरेको तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
संसथापक अध्यक्ष राेहित बस्नेतका अनुसार उक्त तीज विशेष कार्यक्रमबाट प्राप्त मुनाफाबापतको रु.१ लाख ५१ हजार १५१ (एक लाख एकाउन्न हजार एक सय एकाउन्न) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताउनुभएको छ।
समाजले १३ सेप्टेम्बर २०२६, आइतबार बरदुबईस्थित एस्टोरिया होटलको रक नमस्तेमा तीज विशेष कार्यक्रम आयोजना गरेको थियो। नेपालमा आएको विनाशकारी बाढीका कारण पीडित भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग पुर्याउने पवित्र उद्देश्यले आयोजित सो कार्यक्रममा उपस्थित सम्पूर्ण सहयोगी मनहरू, अतिथि र कलाकारहरूको उल्लेख्य सहभागिता रह्यो।
कार्यक्रमको सफलताप्रति खुसी व्यक्त गर्दै सुनसरी समाज यूएईले प्रमुख अतिथि श्री एलिना श्रेष्ठ (आलिया) ज्यू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, र कलाकार मित्रहरू—निरुता गैडे, ओमकार थापा, सन्ध्या थापा, बाबुराम परियार, सोनी भण्डारी, नारायण सुनार र गरिमा डान्स सेन्टर—लाई विशेष धन्यवाद ज्ञापन गरेको छ। साथै, कार्यक्रमको व्यवस्थापन, साउण्ड, प्राविधिक पक्षमा सहयोग गर्ने संरक्षक श्री सुरेन्द्र लामा, खेलकुद विभाग प्रमुख श्री जेकि चौधरी र दिनरात खट्ने सल्लाहकार श्री सिसिर केसी, महासचिव श्री सेरमान लेन्खा, सचिव श्री प्रविन बराईली लगायत सम्पूर्ण कार्यसमिति र उपस्थिति सहयोगी मनहरूप्रति हार्दिक आभार प्रकट गरिएको छ।
कलाकारहरूको प्रस्तुतिले कार्यक्रममा मनोरञ्जन थपेको थियो भने मायाको चिनो छपाइमा ऊँ डिजाइनका श्री ऊँ तामाङले सहयोग गर्नुभएको थियो। समाजले यस मानवीय कार्यमा सबैको साथ र सहयोगको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको छ।

कार्यक्रमको मुनाफाबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको औपचारिक बैंक भौचर पनि समाजले सार्वजनिक गरेको छ।







