दक्षिण कोरिया – दक्षिण कोरियामा कृयाशील साझा संस्था सुदूरपश्चिम समाजको आधिकारिकतालाई लिएर नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरिया र सुदूरपश्चिम समाजबीच विवाद चुलिएको छ। संस्थाको वैधानिकता र नेतृत्वलाई लिएर दुवै पक्षबाट फरक-फरक विज्ञप्तिहरू सार्वजनिक भएktan कोरियाली नेपाली समुदायमा यसले ठूलो बहस सिर्जना गरेको छ।
१. एनसीसी (NCC) को दाबी र स्पष्ट निर्णय
विशाल आवाजबाट प्राप्त पत्र तल दिइएको छ।

नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाका अध्यक्ष हरक बिष्ट र सचिव सुमन चौलागाईंद्वारा जारी परिपत्रमा, संस्थाको ११औं अधिवेशनअघि र पछिका विधान संशोधन तथा संरचना पुनर्गठनअन्तर्गत “ओम साउद” नेतृत्वको समिति नै आधिकारिक सुदूरपश्चिम प्रदेश समाज रहेको स्पष्ट पारिएको छ। निर्वाचन समितिको प्रतिवेदन र प्रमाणित कागजातका आधारमा ओम साउद नेतृत्वको समितिलाई मात्र मान्यता दिइएको र अन्य संस्थालाई मान्यता नदिने NCC को अडान छ। साथै, अन्य संस्था परिमार्फत पनि सुदूरपश्चिम प्रदेश समाजसँग मिल्दोजुल्दो नाम प्रयोग नगर्न आग्रह गरिएको छ।
२. सुदूरपश्चिम समाजको कडा आपत्ति र ध्यानाकर्षण

यता, दिपेन्द्र रोकाया र महासचिव सुरेन गिरीद्वारा सञ्चालित सुदूरपश्चिम समाजले भने NCC को उक्त विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ। दक्षिण कोरियामा प्रचलित कानुनी प्रक्रिया र वैधानिक रूपमा दर्ता भइसकेको संस्थाको आधिकारिकतामाथि प्रश्न उठाउने अधिकार NCC लाई नभएको उनीहरूको दाबी छ।
विवाद समाधान गरी दुवै पक्षलाई मिलाउनुपर्ने साझा अभिभावक संस्थाले एकपक्षीय रूपमा विज्ञप्ति जारी गरी समाजद्वारा आयोजित ‘तेस्रो खप्तड भलिबल कप–२०२६’ लाई प्रभावित पार्ने वा अवरोध सिर्जना गर्ने खालका गतिविधि गरेको गम्भीर आरोप लगाइएको छ। साथै, NCC लाई पूर्वाग्रही नभई निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।






