दक्षिण कोरिया, मासान सविना कार्की
सेप्टेम्बर १३ तारिख आइतबारका दिन ख्याङ्नाम क्षेत्रको मासानस्थित नमस्ते नेपाली रेस्टुरेन्टमा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज कार्यक्रम भव्य गरि मनाइएको छ।

ख्यङनाम नेपाली समाज दक्षिण काेरियाद्वारा आयाेजीत
उक्त तीज विशेष कार्यक्रममा विभिन्न क्षेत्रबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रतिको कृतज्ञता व्यक्त गर्दै ख्याङ्नाम नेपाली समाजका अध्यक्ष रवि खवासले पछिल्लो समय यस क्षेत्रका समुदायहरू एउटै परिवारजस्तै हातेमालो गरेर अगाडि बढिरहेको बताउनुभएको छ। उहाँले छाङ्वन, मासान, हामान, छिर्वन, छिल्बोकदेखि नाम्जि र छाङ्नयानसम्मका नेपालीहरूबीचको यो प्रगाढ सम्बन्ध र एकता बाहिरबाट हेर्दा पनि लोभलाग्दो बन्दै गएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि सुख-दुःखमा यसरी नै हातेमालो गरेर अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ।
त्यस्तै, कार्यक्रमको आयोजना स्थल ‘नमस्ते रेस्टुरेन्ट’ का सञ्चालक बाला थुलुङले पनि कार्यक्रममा करिब ८० देखि ९० जनाको उपस्थिति रहेर भरपुर साथ र समर्थन प्रदान गरेकोमा सबैप्रति आभार प्रकट गर्नुभएको छ।
रमाइलो सँग कार्यक्रम सम्पन्न गर्न र तीजको दर खाई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, सहजीकरण गर्ने सहयोगी भाइहरू तथा समाजका अध्यक्षलगायत पदाधिकारीहरूलाई उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभएको हाे।







