दक्षिण कोरियामा कृयाशील प्रवासी नेपालीहरूको एक सक्रिय संगठनले आफ्नो नाम परिवर्तन गरेको छ। प्राप्त प्रेस विज्ञप्ति अनुसार १३ सेप्टेम्बर २०२६ देखि “नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया” को नाम परिवर्तन गरी “अन्तर्राष्ट्रिय नेपाली मञ्च, दक्षिण कोरिया” कायम गरिएको छ। उक्त जानकारीका मञ्चले पत्रकार सम्मेलन समेत गरेकाे हाे।

संयोजक जीवन खतिवडाद्वारा जारी विज्ञप्तिमा नेपालमा भइरहेको बृहत् कम्युनिस्ट एकता, ध्रुवीकरण र समाजवादी आन्दोलनलाई थप सुदृढ गर्ने ऐतिहासिक प्रक्रियाअनुरुप यो निर्णय लिइएको उल्लेख छ।
यसअघि १९ अक्टोबर २०२५ मा दक्षिण कोरियामा नेकपा (एकीकृत समाजवादी) को प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च’ र नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन ‘नेपाली जनप्रगतिशील मञ्च’ बीच ऐतिहासिक एकता सम्पन्न भएको थियो।
पछिल्लो समय नेपालमा विभिन्न २५ वटा कम्युनिस्ट घटक तथा अग्रगामी समूहहरूको एकताबाट ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण भई कम्युनिस्ट आन्दोलनले नयाँ राजनीतिक धरातल प्राप्त गरेको वर्तमान सन्दर्भमा संगठनले पनि बदलिँदो परिस्थिति र नयाँ यथार्थअनुरुप आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष परिमार्जन गर्ने निर्णय गरेको हो।
नाम परिवर्तन केवल नामको फेरबदल मात्र नभई बदलिँदो धरातलीय यथार्थ, प्रवासी नेपाली समुदायको व्यापकता, राष्ट्रिय आवश्यकता तथा संगठनको आगामी भूमिकालाई थप फराकिलो र प्रभावकारी बनाउने उद्देश्यसँग सम्बन्धित रहेको मञ्चले जनाएको छ।
नयाँ नाम र पहिचानका साथ ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च, दक्षिण कोरिया’ ले आगामी दिनमा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायको हित, अधिकार, एकता र सामाजिक सुरक्षाका सवालहरूमा अझ सशक्त रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






