सविना कार्की
दक्षिण कोरिया- मासान
दक्षिण कोरियामा रहेर विभिन्न सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय नेपाली महिला बाला थुलुङ विगत ३–४ वर्षदेखि कोरियाली समाजमा नेपालको पहिचान र संस्कृति चिनाउने महत्त्वपूर्ण कार्यमा निरन्तर लाग्नुभएको छ।
भाषा अनुवादकको रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुभएकी थुलुङले हाल कोरियाका विभिन्न पानीजहाज कम्पनीहरूमा सुरक्षा शिक्षा (안전교육) प्रदान गर्दै आउनुभएको छ। त्यसैगरी, कोरियाको ख्यङसाङनामदो (Gyeongsangnam-do) एरियाका प्राथमिक विद्यालयहरूमा पुगेर बहुसांस्कृतिक शिक्षा (다문화 강사) मार्फत कोरियाली विद्यार्थीहरूलाई नेपाली संस्कृति, रहनसहन र पहिचानको बारेमा जानकारी गराउँदै आउनुभएको छ।
विद्यालयमा उहाँले नेपाली हिमाल (सगरमाथा) लगायतका विषयमा कक्षा लिइरहनुभएको तस्बिरहरूमा पनि स्पष्ट देख्न सकिन्छ। शिक्षा र अनुवादको क्षेत्रसँगै उहाँ अब कोरियामा रहेका नेपाली दाजुभाइ-दिदीबहिनीहरू तथा अग्रजहरूलाई लक्षित गर्दै अबदेखि ‘नमस्ते नेपाल रेस्टुरेन्ट’ सँग पनि जोडिनुभएको छ।

कोरियामा नेपालीहरूलाई घरकै जस्तो अर्गानिक स्वाद, पारिवारिक वातावरण र आत्मीय आतिथ्यता प्रदान गर्ने उद्देश्यले यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभएको छ।
”यहाँहरूको माया, सल्लाह, सुझाव र उपस्थिति नै हाम्रो हौसलाको स्रोत हुनेछ,” थुलुङले कोरियावासी सम्पूर्ण नेपालीहरूलाई मौलिक र स्वादिलो नेपाली परिकारहरूको स्वाद लिनका लागि रेस्टुरेन्टमा हार्दिक आमन्त्रण गर्नुभएको छ।






