सउल- दक्षिण कोरिया – दक्षिण कोरियाको लोकप्रिय वित्तीय तथा रेमिट्यान्स सेवा प्रदायक कम्पनी हानपास (HANPASS) ले नेपालका बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि ३ करोड कोरियन वन सहयोग उपलब्ध गराएको छ। गत अगस्ट २६ मा नेपालमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका समुदायलाई सघाउन कम्पनीले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
शुक्रबार सौलस्थित नेपाली दूतावासमा आयोजित एक विशेष कार्यक्रमका बीच हानपासका प्रमुख व्यवसाय अधिकृत (CBO) एस्टेल शिन (신지현) र बिजनेस डेभलपमेन्ट म्यानेजर सन्तोष खड्काले कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।
संस्थागत सहयोग र प्रयोगकर्ताको सहभागिता
दूतावासका अनुसार कुल ३ करोड वनमध्ये:
२ करोड वन: हानपासको संस्थागत विपद् राहत कोषबाट उपलब्ध गराइएको हो।
१ करोड वन: अगस्ट २७ देखि सेप्टेम्बर ६ सम्म सञ्चालन गरिएको विशेष राहत अभियानमार्फत संकलन गरिएको हो।
उक्त अभियान अवधिमा नेपाली सेवाग्राहीहरूले गरेको प्रत्येक योग्य रेमिट्यान्स कारोबारबापत हानपासले आफ्नो तर्फबाट १,००० वन राहत कोषमा थप्दै लगेको थियो। संकलित सम्पूर्ण रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’का लागि दूतावासको आधिकारिक खातामा जम्मा गरिएको छ।
”कठिन परिस्थितिमा नेपाली समुदायको साथमा छौँ”
रकम हस्तान्तरण गर्दै हानपासकी CBO एस्टेल शिनले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारमा समवेदना प्रकट गर्नुभयो। “आर्थिक सहयोगले पुगेको क्षति र पीडा पूर्ण रूपमा मेट्न नसके पनि पुनर्स्थापनामा यसले सानो भए पनि मल्हम लगाउने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो, “दुःखको यो समयमा हानपास सधैँ नेपाली समुदायको पछाडि उभिनेछ।”
यस्तै, हानपासका बिजनेस डेभलपमेन्ट म्यानेजर सन्तोष खड्काले हानपासले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई सधैँ प्राथमिकतामा राखेको बताउनुभयो। “हामी केवल सामान्य अवस्थामा मात्र होइन, विपद्को कठिन घडीमा पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख–दुःखको सारथी बनेका छौँ,” खड्काले थप्नुभयो।
दूतावासद्वारा हानपासको प्रशंसा
सहयोग रकम ग्रहण गर्दै कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले हानपास परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। विपद्को समयमा कोरियाली सरकार, विभिन्न संघसंस्था र व्यावसायिक क्षेत्रबाट प्राप्त सहयोगले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाएको उहाँको भनाइ थियो।
दूतावासले कोरियामा रहेका १ लाखभन्दा बढी नेपालीलाई सुरक्षित, वैधानिक र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान गर्नुका साथै सामाजिक कार्यमा देखाएको सक्रियताका लागि हानपासको प्रशंसा गरेको छ।
कार्यक्रममा राहत सहयोगका अतिरिक्त नेपाल–कोरिया मैत्रीपूर्ण सम्बन्ध, पर्यटन, लगानी तथा भावी व्यावसायिक सहकार्यका विषयमा समेत सकारात्मक छलफल भएको थियो।






