सउल, दक्षिण कोरिया सविजा कार्की
नेपालमा हालै आएको विनाशकारी र रौद्र रूपधारी बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ‘नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया’ले पीडितहरूको राहतका लागि साङ्गठनिक रूपमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
मञ्चले पार्टी केन्द्रमार्फत ५५ हजार १ सय ७६ रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो। देशमा विपत्तिको यो कठिन घडीमा व्यक्तिगत तवरले मात्र नभई संस्थागत ढङ्गबाट पनि सहयोग हात अगाडि बढाइएको मञ्चले जनाएको छ।
सहयोगबारे बोल्दै नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाका अध्यक्ष जीवन खतिवडाले भन्नुभयो— “नेपालमा हालै आएको विनाशकारी बाढीको प्रकोपमा परी जनधनको क्षतिलाई मल्हम पट्टी गर्न हामी सबैले व्यक्तिगत तवरले आ-आफ्नो हैसियतले भ्याएसम्म गर्यौँ। तथापि, संस्थागत ढङ्गबाट पनि यो कदम अघि बढाएका छौँ। देशलाई पर्दा हामी प्रवासमा रहेका नेपालीहरूलाई पनि उत्तिकै दुख्छ। राजनीतिक वा सामाजिक आस्था फरक भए पनि राष्ट्र संकटमा पर्दा हामी सबै एक भएर अघि बढ्नुपर्छ।”
मञ्चका महासचिव सुबिन्द्र मगर र अध्यक्ष जीवन खतिवडाद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ताहरूको खोजतलास युद्धस्तरमा अघि बढाउन सरकारसँग जोडदार माग गरिएको छ। साथै, यस अभियानमा जोडिएर सहयोग गर्ने सम्पूर्ण नेपालीहरूलाई मञ्चले धन्यवाद ज्ञपन गरेको छ।






