मनिसा कार्की
सिन्धुपाल्चोक — बारबिसे नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले गत भदौ १० गते केरुङ–रसुवा क्षेत्रको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सिन्धुपाल्चोकका बासिन्दाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
एक वक्तव्य जारी गर्दै नगरप्रमुख बस्नेतले बाढीपछि आठ दिनसम्म निरन्तर खोज तथा उद्धार गर्दा पनि केही शव फेला नपर्नु र भेटिएका केही शवको पहिचान हुन नसक्नु अत्यन्तै पीडादायी भएको बताउनुभएको छ।
बाह्रबिसे नगरपालिकाका विभिन्न वडाबाट बाढीपछि सम्पर्कविहीन भएकामध्य केहिकाे बुधबार कुशको प्रतिरूप बनाएर सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार वडा नम्बर ३ का पदम कार्की, रेशम थापा, सुविन्द्र थापा र शम्भु बस्नेतको एकैपटक सामूहिक रूपमा अन्त्येष्टि गरिएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।
बाढी प्रभावित र पीडित परिवारको साथमा स्थानीय सरकार निरन्तर रहने प्रतिबद्धता जनाउँदै नगरप्रमुख बस्नेतले राहत तथा पुनर्स्थापनाका लागि निम्न महत्त्वपूर्ण निर्णय र पहलहरूको घोषणा गर्नुभएको छ:
निःशुल्क शिक्षा: बाढीमा ज्यान गुमाएका व्यक्तिका बालबालिकालाई माध्यमिक तहसम्म बारबिसे नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने।
तालिम तथा रोजगारी: पीडित परिवारका सदस्यहरूलाई सीपमूलक तालिम, रोजगारी तथा स्वरोजगारका अवसरहरूमा पहिलो प्राथमिकता दिइने।
आर्थिक पुनर्स्थापना: संघसंस्था, हाइड्रोपावर कम्पनी, निजी क्षेत्र र स्थानीय सरकारसँग आवश्यक समन्वय गरी परिवारको दीर्घकालीन आर्थिक पुनर्स्थापनाका लागि पहल गरिने।






