सउल दक्षिण कोरियार सविना कार्की
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित भएका नागरिकहरुकै राहत, उद्धार तथा पुन:स्थापनाका लागि रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
समितिले प्रकोप पीडित नागरिकहरुको सहायताका लागि नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल रु २,१६,०३१/- (दुई लाख सोह्र हजार एकतीस रुपैयाँ) जम्मा गरेको जानकारी दिएको छ।
बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समितिले प्राकृतिक विपत्तिको यस घडीमा पीडित परिवारको साथमा उभिनु मानवीय दायित्व भएको बताएको छ।
संस्थाका अध्यक्ष आदेश खड्का र महासचिव अशोक भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो। आगामी दिनमा पनि यस्ता आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।”

साथै, समितिले यस मानवीय कार्यमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगीदाता, समिति परिवार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।






