बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल आर्थिक तथा मानवीय सहयोगका लागि समन्वय थालेका छन्।बाढीको खबर सार्वजनिक भएलगत्तै बुधबार बिहान १०ः३५ बजे नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका थिए।
विश्व बैंकले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा आगामी पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा नेपाल सरकारसँग समन्वय अघि बढाएको हो। यसैगरी, दक्षिणी छिमेकी भारतले बाढी प्रभावितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ।
भारतबाट उपलब्ध हुने राहत सामग्री बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै भारतसँग आवश्यक राहत सामग्री तथा सहयोगका विषयमा छलफल भइरहेको बताइएको छ।
उत्तरी छिमेकी चीनले समेत बाढी प्रभावित नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। त्यसका लागि सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएपछि सरकारले उद्धार तथा राहतलाई तीव्रता दिइरहेको छ। प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणका लागि समेत ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ।
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट अर्थमन्त्री डा. वाग्लेले आभार व्यक्त गरेका छन्। सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्न अन्तर–सरकारी समन्वयमार्फत आवश्यक मोडालिटीबारे छलफल भइरहेको उनको सचिवालयले जनाएको छ।






