पाँच–स दक्षिण कोरियाले सेप्टेम्बर १३ तारिखमा “हरितालिका तिज दर खाने कार्यक्रम” गर्ने भएको छ। दक्षिण कोरियामा नेपाली मौलिक कला, संस्कृति, संस्कार तथा सनातन धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना हुने भएको छ।
पूर्वीय सनातन धर्म, कला, संस्कार एवं नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले स्थापित सनातन साहित्य संगीत साधना समूह (पाँच ‘स’) दक्षिण कोरियाको आयोजनामा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको पाँच–स का अध्यक्ष महेन्द्र सापकोटाले बताउनुभएको छ।
कार्यक्रममा तीजको मौलिक संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुतिसँगै दर खाने कार्यक्रम, दीप प्रज्वलन तथा शान्ति पाठलगायतका धार्मिक एवं सांस्कृतिक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ। नेपाली समुदायमा आपसी एकता, भाइचारा र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम २०२६ सेप्टेम्बर १३ तारिख आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ। कार्यक्रम 경기도 안산시 단원구 신길로 1길 82, 5층, JTS 안산 다문화센터मा आयोजना हुने आयोजकले जानकारी दिएको छ।

आयोजक संस्थाले दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपाली महिला दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली मौलिक कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन हार्दिक अनुरोध गरेको छ। “नेपाली मौलिक संस्कृति जोगाउँदै तीजको खुसी सँगसँगै मनाऔँ” भन्ने भावनाका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा सबैको गरिमामय उपस्थितिका लागि आयोजकले निमन्त्रणा गरेको छ।






