नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको हितमा काम गर्न आव्हान गर्नुभएको छ । झापाको बिर्तामोडमा आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको बताउनुभयो । “देश बनाउन हिँडेका हौँ । देशका लागि काम गर्न लागेका छौं । देश बनाउन हामी हिँड्नुपर्छ” पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले राजनीतिमा व्यक्तिगत लाभ र पद प्राप्तिको सोच राख्न नहुने बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “प्रधानमन्त्री बनौँला, पार्टी अध्यक्ष बनौँला भनेर म हिँडेको थिइनँ र छैन” उहाँले भन्नुभयो । ओलीले नेता–कार्यकर्ताले आफूले के प्राप्त गर्नेभन्दा देश र जनताका लागि आफूले के दिन सकिन्छ भन्ने सोच्नुपर्ने बताउनुभयो । “राष्ट्रिय हितको भारी बोकेर हिँडेका हौँ । पाउला र खाउँला भन्ने सोच हामीमा रहनु हुँदैन” उहाँले भन्नुभयो ।

उहाँले राजनीति स्वार्थका लागि नभइ आदर्श र देश निर्माणका लागि हुनुपर्ने धारणा राख्नुभयो । “देश र जनताका लागि मैले के दिन सकेँ भन्नेतर्फ लाग्नुपर्छ । स्वार्थका लागि नभइ आदर्शका लागि अघि बढौँ” ओलीले भन्नुभयो । जस्तोसुकै परिस्थितिमा पनि हामीले देश र जनताको बारेमा सोचौं, उहाँले आग्रह गर्नुभयो ।
यसैबिच, एमाले अध्यक्ष ओलीले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताउनुभयो । उहाँले पार्टी पुनर्गठन तथा नेतृत्व हटाउने विषयमा विभिन्न किसिमका हल्ला चलाइएको भन्दै त्यसको कुनै आधार नभएको दाबी गर्नुभयो । “पार्टी पुनर्गठन र नेतृत्व हटाउन बेतुकको हल्ला हो । यो सम्भव र आवश्यक छैन” ओलीले भन्नुभयो ।
आन्दोलन संकटमा पर्दा विगतमा तीन पटक पार्टी तथा कम्यूनिष्ट आन्दोलन पुनर्गठन भएको स्मरण गराउँदै उहाँले ती पुनर्गठन विशिष्ट परिस्थितिमा भएको दाबी गर्नुभयो । अहिलेको अवस्थामा त्यस्तो आवश्यकता नरहेको उहाँको भनाइ थियो । कार्यक्रममा ओलीले पार्टीलाई थप सुदृढ बनाउँदै देश र जनताको पक्षमा प्रभावकारी रूपमा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

बिर्तामोडमा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । ‘मिसन पार्टी जागरण अभियान–२०८३’ मार्फत पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ राजनीतिक जागरण अभिवृद्धि गर्ने उद्देश्य राखिएको नेकपा (एमाले) झापा अध्यक्ष प्रेम गिरीले बताउनुभयो ।






