‘खुल्ला लोकदोहोरी प्रतियोगिता’को तयारी लगभग पूरा भएको छ। निर्णायक सुर्य खड्का रहने उक्त कार्यक्रमको फाइनलमा भने नेपाली राजदूतावासका द्वितीय
सचिव जेनिम अधिकारीकाे प्रमुख अतिथि रहेने बताइएको छ।
दक्षिण कोरियाको फेन्थेकमा आयोजना हुन लागेको ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ मा २३ टोली दर्ता भएसँगै टोली दर्ता प्रक्रिया बन्द गरिएको छ।
नेपाल गोरखा परिवार, दक्षिण कोरियाको आयोजनामा हुन लागेको प्रतियोगिता यही अगस्ट १६ तारिख आइतबार फेन्थेक निरमाया दोहोरि साझको हलमा आयोजना हुँदैछ।
लोकसंस्कृतिको संरक्षणसँगै सामाजिक सहयोगको उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा २३ टोलीबीच प्रतिस्पर्धा हुने भएपछि कार्यक्रमलाई लिएर कोरियास्थित नेपाली समुदायमा उत्साह बढेको छ। प्रतियोगिता हेर्न दर्शकको समेत उल्लेखनीय सहभागिता हुने अपेक्षा गर्दै आयोजकले कार्यक्रमस्थलमा आवश्यक व्यवस्थापन तथा अन्य तयारीलाई तीव्र बनाएको जनाएको छ।

गोरखा परिवार दक्षिण कोरियाका अध्यक्ष देवी गौतम का अनुसार प्रतियोगितालाई व्यवस्थित, भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। सहभागी २३ टोलीबीचको रोचक प्रतिस्पर्धासँगै दक्षिण कोरियामा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहने आयोजकको अपेक्षा छ।
प्रतियोगितामा प्रथम हुने टोलीले ८ लाख वन, द्वितीयले ४ लाख वन र तृतीय हुने टोलीले ३ लाख वन नगद पुरस्कार प्राप्त गर्नेछन्। कार्यक्रममा अशोक खड्का र रोजी मगर प्रस्तोताका रूपमा तथा सूर्य खड्का निर्णायकका रूपमा सहभागी हुनेछन्। यस अघि प्रस्तोताको रुपमा आउने भनिएका चर्चित गायक तथा प्रस्तोता दिपक थापा भने जापान बाट कोरिया आउन भिषा समस्याका कारण उपस्थित नहुने जनाइएको छ।यसै गरी कार्यक्रममा कलाकार गोपिका नेपालको धमाकेधार डान्स पनि हेर्न पाइने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल नेपाली राजदूतावास दक्षिण कोरियाका द्वितीय सचिव जेनिम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ। गोरखा जिल्लाका विकट क्षेत्रका शैक्षिक संस्थाहरूमा शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यसमेत रहेको यस कार्यक्रमलाई सफल बनाउन आयोजकले कोरियाबासी नेपालीसँग आर्थिक, भौतिक तथा नैतिक सहयोगको आग्रह गरेको छ।







