रास्वपा सांसद माननीय हरि ढकालज्यूले आज एक कार्यक्रममा भन्नुभयो— “नेपालमा सिंह नै पाइँदैन, सिंहदरबारको नाम फेरौँ !”
त्यसो भए अब नाम खोजी अभियान नै चलाउनुपर्ला जस्तो छ।
सिंहदरबारमा सिंह छैन रे! ठिकै छ, तर बाघदरबारमा बाघ छ? रानीपोखरीमा रानी पौडी खेलिरहेकी भेटिन्छिन्? कालीमाटीमा कालो माटो नापेर राखिएको छ? नागढुङ्गामा नागले नागरिकता बनाएको छ? कमलपोखरीमा कमलको खेती भइरहेको छ? सुन्धारामा सुन बगिरहेको छ? पुतलीसडकमा पुतलीले ट्राफिक नियम पालना गरिरहेका
छन्? बागबजारमा बाघले पसल खोलेको छ? हनुमानढोकामा हनुमानले गार्डको ड्युटी गरिरहेका छन्? महाराजगन्जमा महाराजको दरबार बसेको छ। राजदरबारमा अहिले पनि राजा शासन चलाइरहेका छन्?
यदि ठाउँको नाम त्यहाँ भेटिने वस्तु, जनावर वा व्यक्तिको आधारमा राख्नुपर्ने हो भने नेपालका आधा नक्सा फेरि छाप्नुपर्ने अवस्था आउँछ।
नाम इतिहास, पहिचान र परम्पराको चिनो हो। नत्र भोलि कसैले “गौसालामा गाई छैन”, “माइतीघरमा मेरो माइती छैन”, “बत्तीसपुतलीमा ३२ वटा पुतली गनेर देखाऊ” भन्न थाल्यो भने सरकारी कामकाजभन्दा नाम फेर्ने काममै बजेट सकिन्छ।
देशका समस्या हजारौँ छन्, तर केही नेताहरूको चिन्ता भने— “सिंहदरबारमा सिंह किन छैन?” भन्ने स्तरमा पुगेको देख्दा जनताले पनि मुस्कुराएर सोध्न थालेका छन्—
“माननीयज्यू, संसद्मा जनताका मुद्दा खोज्ने कि ठाउँको नाममा जनावर खोज्ने?”







