दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी २०२६ अगस्ट १५ गते शनिबार साँझ ६:०० बजेदेखि पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजका अध्यक्ष दिपेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न बैठकले उक्त कार्यक्रम आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। बैठकले पिकनिक कार्यक्रमलाई व्यवस्थित, मर्यादित तथा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीका लागि विभिन्न जिम्मेवारीसहितको कार्यसमिति समेत गठन गरेको छ।
गठित कार्यसमितिअन्तर्गत महेश बजगाईंलाई कार्यक्रम संयोजक, नवराज तिमिल्सेनालाई आर्थिक संयोजक, नरेश रावललाई सांस्कृतिक संयोजक, कृष्ण भण्डारीलाई कार्यक्रम व्यवस्थापन संयोजक, रुक्मा बमलाई स्वागत तथा सत्कार संयोजक, डम्बर न्यौपानेलाई भान्सा व्यवस्थापन संयोजक तथा अशोक बोहरालाई स्वयंसेवक संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
बैठकले उक्त कार्यसमितिलाई कार्यक्रमको आवश्यक तयारी, समन्वय, व्यवस्थापन तथा सफल कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण कार्यहरू अगाडि बढाउने जिम्मेवारी प्रदान गरेको छ। साथै सम्बन्धित संयोजकहरूले आफ्नो विभागको आवश्यकता अनुरूप थप सदस्यहरू चयन तथा मनोनयन गर्ने निर्णय समेत सर्वसम्मत रूपमा पारित भएको छ।
समाजले उक्त पिकनिक कार्यक्रमलाई दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, सहकार्य, सांस्कृतिक आदानप्रदान तथा सम्बन्ध विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। साथै कार्यक्रमलाई भव्य, सभ्य, मर्यादित तथा ऐतिहासिक रूपमा सफल बनाउन दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूमा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दै सहयोग र साथको अपेक्षा व्यक्त गरेको छ।
यसैबीच, पिकनिक कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन नेपालबाट कलाकारहरू आमन्त्रण गर्ने विषयमा समेत छलफल भइरहेको जानकारी समाजका अध्यक्ष दिपेन्द्र रोकायाले दिनुभएको छ।







