सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा “प्रथम सिन्धुपाल्चोक डन्डीबियो प्रतियोगिता–२०२६” सम्बन्धी पत्रकार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममार्फत नेपालको मौलिक तथा परम्परागत खेल डन्डीबियोलाई दक्षिण कोरियामा संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित प्रतियोगितासम्बन्धी महत्वपूर्ण जानकारी सार्वजनिक गरिएको थियो। सम्मेलनमा प्रतियोगिताको मिति, स्थान, नियम, सहभागिता प्रक्रिया तथा व्यवस्थापन पक्षबारे विस्तृत जानकारी दिइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता आगामी २०२६ अक्टोबर ११ (आइतबार) का दिन दक्षिण कोरियाको सउलस्थित हाङ नदी क्षेत्रमा आयोजना हुनेछ। प्रतियोगितामा अधिकतम १६ टोली सहभागी हुन सक्नेछन् भने प्रत्येक टोलीमा ५ जना खेलाडी रहने व्यवस्था गरिएको छ। सहभागी टोलीका लागि दर्ता शुल्क १,५०,००० कोरियन वन निर्धारण गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टोलीले १०,००,००० कोरियन वन र द्वितीय हुने टोलीले ५,००,००० कोरियन वन प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट ठ्याक खेलाडी तथा उत्कृष्ट क्याच खेलाडीलाई विशेष सम्मान प्रदान गरिने आयोजकले जानकारी दिएको छ। कार्यक्रमलाई सफल बनाउन स्पोन्सरशिपको अवसरसमेत खुला गरिएको छ, जसअन्तर्गत एक मुख्य स्पोन्सर र पाँच सहायक स्पोन्सर रहने व्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजकले प्रतियोगिता सुरक्षित, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालका मौलिक खेलहरूको संरक्षण र प्रवर्द्धनमा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे। साथै, प्रतियोगिताका लागि टोली दर्ता खुला गरिएको जानकारी दिँदै इच्छुक टोलीहरूलाई समयमै दर्ता गराउन अनुरोध गरिएको छ।
टिम दर्ता तथा थप जानकारीका लागि आयोजकले सम्पर्क नम्बर ०१०-३३९८-३७५८ सार्वजनिक गरेको छ।
नेपालको मौलिक खेल डन्डीबियोलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यस ऐतिहासिक अभियानलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।







