कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सह–सेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ ।
३ जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट झण्डै ४ किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो । सेनाका अनुसार बेल्डाडीका तीनै जना हिजो लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । शुक्लाफाँटाभित्र भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेको १४ जना महिलाको समूह सम्पर्कविहीन छ ।
रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरुको खोजीका लागि ठूलो सङ्ख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ । बागफाँटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरुको खोजी भइरहेको जानकारी दिनुभयो ।







