नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ । डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार यो सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो ।अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधिमार्फत सिम बुझ्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।
सञ्चार मन्त्रालयले अघि सारेको सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ ।यसैअनुसार कम्पनीले मोबाइल सेवा व्यवस्थापन, प्रशासनिक प्रक्रिया सरलीकरण र सेवाग्राही केन्द्रित सेवा विस्तारका कार्यक्रम अघि बढाएको जनाएको छ ।







