‘केन्द्रमा टिम गगन, कोरियामा टिम लक्ष्मण’ भन्दै लक्ष्मण दाहाल प्यानलसहित चुनावी मैदानमा, सभापतिदेखि महामन्त्रीसम्म टोलीको उम्मेदवारी नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ केन्द्रीय अधिवेशनका लागि लक्ष्मण दाहाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।भोली जुलाई १२, २०२६ मा राजधानी सोलमा हुने अधिवेशनलाई लक्षित गर्दै दाहालले सभापतिदेखि महामन्त्रीसम्म आफ्नो टोलीका उम्मेदवार सार्वजनिक गरेका हुन्।
दाहाल नेतृत्वको प्यानलमा सभापतिमा लक्ष्मण दाहाल, उपसभापतिमा खेम राज देवकोटा र सुरेश उप्रेती, तथा महामन्त्रीमा बम बहादुर तामाङ (रविप्रताप) र अर्जुन सेन्दाङ लिम्बु रहेका छन्। प्यानलले संगठनमा निरन्तरता र नवीनताको समन्वय गर्दै जनसम्पर्क समितिलाई थप सशक्त, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएको छ।

प्यानलले सार्वजनिक गरेको प्रतिबद्धतामा पारदर्शी, उत्तरदायी र विधिसम्मत संगठन निर्माण, दक्षिण कोरियामा रहेका नेपालीका लागि आकस्मिक उद्धार तथा सहयोग संयन्त्र, सुरक्षित आप्रवासन र श्रमिक अधिकारका पक्षमा पैरवी, प्रवासबाट मतदान अधिकार सुनिश्चित गर्न पहल, सीप, पूँजी र ज्ञानलाई मातृभूमिसँग जोड्ने अभियान, संस्थाको नियमित आय–व्यय सार्वजनिक गर्ने व्यवस्था, युवाको नेतृत्व विकास र वैचारिक प्रशिक्षण, तथा गुटबन्दीभन्दा माथि उठेर संगठनात्मक एकता कायम गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।सभापतिका उम्मेदवार लक्ष्मण दाहालले “निरन्तरतामा नवीनता, संगठनमा सुदृढीकरण र पुस्तान्तरणसहितको हस्तान्तरण” आफ्नो अभियानको मूल नाराका रूपमा अघि सारेका छन्।
उनले अनुभवी र ऊर्जाशील नेतृत्वको संयोजनमार्फत संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। लक्ष्मण दाहाल नेतृत्वको प्यानल सार्वजनिक भएपछि अधिवेशनको चुनावी माहोल थप सक्रिय बनेको छ भने प्रतिनिधिहरूबीच प्यानलगत प्रतिस्पर्धाले पनि विशेष चर्चा पाउन थालेको छ।








