नवनिर्वाचित सांसद अमरेश सिंहले नेपाली कांग्रेसका सभापति तथा आफूसँग प्रत्यासी गगन थापालाई अब चुनाव सकिएकाले तीता अनुभवलाई बिर्सेर देश निर्माणको दिशामा अघि बढ्नुपर्ने सुझाएका छन् । आगामी दिनमा विभिन्न राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने उल्लेख गर्दै उनले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ संस्कारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत खुल्लापत्र सार्वजनिक गर्दै उनले राजनीतिक शुद्धता, भ्रष्टाचारविरुद्धको जनमत र आगामी राजनीतिक सहकार्यबारे अपेक्षा गरेका छन् ।डा. सिंहले आफ्नो पत्रमा गगन थापाले सर्लाहीमा आएर चुनाव लडेको विषयमा धन्यवाद व्यक्त गरेका छन् ।
उनले थापा आफैं चुनाव लडेको अमरेश सिंहलेए प्रतिस्पर्धा रोचक हुने उल्लेख गर्दै अन्ततः “भ्रष्टहरूले आयातित उम्मेदवार” बनाएको आरोपसमेत लगाएका छन् ।पत्रमा डा. सिंहले आफूविरुद्ध व्यक्तिगत र पारिवारिक जीवनसँग जोडेर टिप्पणी गराइएको दाबी पनि गरेका छन् । यस्ता टिप्पणीहरू गराइएको भए पनि त्यसले आफूलाई खासै फरक नपरेको उनले उल्लेख गरेका छन् । उनले राजनीति व्यक्तिको निजी जीवनमा होइन, सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सिंहले पत्रमार्फत भ्रष्टाचारविरुद्ध जनताले दिएको सन्देशलाई गम्भीर रूपमा लिन पनि आग्रह गरेका छन् । ‘अब भ्रष्टहरूलाई ठीक ठाउँमा लगाउने जनमत आएको छ’ भन्दै उनले गगन थापाले पनि त्यस्ता व्यक्तिहरूको साथ छोडेर स्वच्छ राजनीतितर्फ उन्मुख हुनुपर्ने अपेक्षा राखेको जनाएका छन् ।
उनले गगन थापाले कांग्रेसभित्र परिवर्तन खोजिरहेको उल्लेख गर्दै पार्टी परिवर्तन गर्न खोज्दा स्वयं पनि परिवर्तनको उदाहरण बन्नुपर्ने सुझाव दिँदै आगामी राजनीतिक यात्रा सफल, सफा र स्वच्छ होस् भन्ने कामना व्यक्त गरेका छन् ।






