दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूलाई कुकमिन फोहम (National Pension Scheme) मार्फत पेन्सन सुविधा सुनिश्चित गराउन पहल गर्न माग गर्दै ६ वटा प्रादेशिक समाजले फागुन १६ गते शनिबार दूतावासमा आयाेजीत कार्यक्रममा उपस्थित जनायर संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।
उक्त ज्ञापनपत्र आज डा. शिवमाया तुम्बाहाङ्फे र नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्ले समक्ष पेश गरिएको हो।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार दक्षिण कोरिया मा EPS अन्तर्गत कार्यरत नेपाली श्रमिकहरूले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका भए पनि अन्य देशका श्रमिकसरह राष्ट्रिय पेन्सन सुविधा पूर्ण रूपमा प्राप्त गर्न नसकेको अवस्था रहेको जनाइएको छ।
कोरियामा निश्चित अवधिसम्म काम गरी स्वदेश फर्किने विदेशी श्रमिकहरूले पेन्सन रकम प्राप्त गर्ने व्यवस्था भए पनि नेपाली श्रमिकहरूको दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित हुन नसकेको भन्दै नेपाल सरकारबाट आवश्यक कूटनीतिक तथा नीतिगत पहल गर्न आग्रह गरिएको थियो ।
ज्ञापनपत्रमा सुदूरपश्चिम समाज, पूर्वी नेपाल समाज, बागमती प्रदेश एकता समाज, कर्णाली प्रदेश समाज, गण्डकी प्रदेश समाज तथा लुम्बिनी प्रदेश समाजको संयुक्त समर्थन रहेको थियो।
राजदूतावासमार्फत उक्त विषय नेपाल सरकारसम्म पुर्याई आवश्यक कूटनीतिक समन्वय गर्न अनुरोध गरिएको छ। सम्बन्धित सबै प्रदेश समाजहरूले यस विषयमा एकमत रहेको र आवश्यक सहयोगका लागि निरन्तर साथ दिने प्रतिबद्धता समेत जनाएका छन्।






