अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको छ । यसअघि सर्वोच्च अदालतको शुल्कसम्बन्धी फैसलापछि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लगाउनुभएको थियो ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा उहाँले हिजो सर्वाेच्च अदालतले करसम्बन्धी निर्णयको विरोध गर्दै विश्वव्यापी कर बढाएको बताउनुभएको छ । धेरै देशहरूले वर्षाैँदेखि अमेरिकालाई हानि पुर्याइरहेको ट्रम्पले दाबी गर्नुभएको छ ।
आउँदो महिनाहरूमा आफ्नो प्रशासनले कानूनी रूपमा नयाँ शुल्कहरू निर्धारण गर्ने र यसले अमेरिकालाई फेरि महान् बनाउने आफूहरूको अभियानलाई अझ सफल बनाउने उहाँले जिकिर गर्नुभएको छ ।
ह्वाइट हाउसले गएको वर्ष घोषणा गरेका धेरैजसो कर शुक्रवार अमेरिकी सर्वाेच्च अदालतले खारेज गरेको हो । आफ्नो फैसलामा अदालतले ट्रम्पले आफ्नो शक्ति नाघेको र राष्ट्रिय आपत्कालीन ऐन लागू गरेको बताएको छ ।





