नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अल्गोरिदमले सामाजिक सञ्जाल क्याप्चर गरेर सबैलाई भ्रम छरिएको बताउँदै मतदाताले वास्तविकता बुझ्दै गएको जनाएका छन् ।आज बुटवलमा नेपाली कांग्रेसले आयोजना गरेको बुद्धिजीवीसँग अन्तरसंवाद कार्यक्रममा उनले सामाजिक सञ्जालका सबै कुरा तथ्यपरक नहुने भन्दै त्यसलाई जस्ताको तस्तै पत्याउन नहुने धारणा राखे ।
उनले भने ‘अहिले चलेको हावाको कुनै भविष्य छैन, शरिरभरी दागैदाग र मुद्दैमुद्दा बोकेका मान्छेले सुशासनका कुरा गरेर चिच्चाउनुको अर्थ रहँदैन, बाटोमा देखिने भीड र सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा धेरै फरक हुन्छ, यसपटक देश सम्झेर सिरियस्ली ढङ्गले रुखमा मत दिनुपर्छ ।’
गगन थापासँग अरू कसैको तुलना हुन नसक्ने भन्दै नयाँ भनिएकाहरूले रातीमा स्ट्याटस लेख्ने,जनतालाई ठग्दै हिंंड्नेबाहेक कुनै काम गर्न नसकेको उनले आरोप लगाए । भर्खरै पालिकाहरूको कार्यसम्पादनमा सबैभन्दा कमजोर रिजल्ट ल्याएका काठमाडौँका तत्कालीन मेयरलाई देशको प्रधानमन्त्री बनाए देश पनि कार्यसम्पादनमा सबैभन्दा कमजोर हुने र देश नै सक्किने उनको दाबी थियो ।
उनले रास्वपाबाट टिकट पाएकाहरूको कुनै राजनैतिक इतिहास र धरातल नभएको आरोप लगाए। कांग्रेस प्रवक्ता चालिसेले भदौ २३ को गोली र २४ गतेको आगो यी दुवै अतिवादको विरुद्धमा रहेको स्मरण गराउँदै अब देश सम्हालेर नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गरे ।कांग्रेसले मात्रै देशको भविष्य जोगाउन सक्ने दाबी गरेका छन् । फागुन २१ को निर्वाचन देश बचाउने की सक्काउने भन्नेको भएकाले सोहीअनुसार मतदाताले निर्णय लिनुपर्ने उनको भनाइ थियो ।
‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनुपर्नेछ ,त्यसका लागि कांग्रेसको विकल्प नै छैन ,देशको भविष्य कांग्रेससँग जोडिएको छ ।’ उनले भने,‘नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जेनजीसहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको छ ।’
चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा गएको बताए । सुधारिएको कांग्रेसले देश पनि बदल्ने भन्दै उनले देश र जनमैत्री प्रशासनका विषयवस्तु कांग्रेसले अगाडि सारेको जनाए । प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टी अगाडि बढेको स्मरण गर्दै जनतालाई कांग्रेसले गरेका प्रतिज्ञा पत्र बुझाउन जरुरी रहेको बताए ।
प्रवक्ता चालिसेले कांग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम कार्यकर्ता र जनतामा आएको उत्साहले हौसला र प्रेरणा मिलिरहेको भन्दै उनले देशभर ठूलो सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर बढ्दै गएको बताए।प्रवक्ता चालिसेले कांग्रेसले क्लियर भिजनसहित सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने र देशको अर्थतन्त्र सुधारेर आवश्यक नीति बदल्दै जनतालाई सेवा सुविधा सहज दिने गरी काम गर्ने बताए ।





