अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रम रोक्न र त्यहाँका नेताहरूलाई दबाब दिन ‘सीमित सैन्य हमला’ गर्ने विषयमा विचार गरिरहेको बताएका छन्।पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले इरानसँग नयाँ सम्झौता हुने वा अमेरिकाले सैन्य कारबाही गर्ने भन्ने विषयमा आगामी १० दिनभित्रै टुङ्गो लाग्ने बताए ।बीबीसीका अनुसार हालैका हप्ताहरूमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको छ।
ट्रम्पले इरानसँगको तनाव उत्कर्षमा पुगेका बेला सैन्य विकल्प खुला रहेको बताएको समाचारमा उल्लेख छ। अमेरिकी अधिकारीहरूले पनि पछिल्लो समय सम्भावित सैन्य कारबाहीका सङ्केतहरू दिँदै आएका छन्।
यसैबीच, कूटनीतिक प्रयासहरू पनि जारी देखिएका छन्। इरानी विदेशमन्त्री अब्बास अराक्चीले अमेरिकासागको सम्भावित सम्झौताको मस्यौदा केही दिनभित्रै तयार हुने र त्यसलाई अमेरिकी विशेष दूत स्टिभ विट्कफलाई बुझाइने जानकारी दिएका छन् । इरानले परमाणु हतियार विकास गरिरहेको आशंका अमेरिका र युरोपेली मुलुकहरूले गर्दै आए पनि इरानले भने त्यसलाई सधैं अस्वीकार गर्दै आएको छ।





