भारतमा भएको कृत्रिम बौद्धिकता अर्थात् एआई शिखर सम्मेलन केन्द्रित घोषणापत्र आज सार्वजनिक गरिँदैछ । शिखर सम्मेलनमा दर्जनौँ राष्ट्रिय प्रतिनिधिमण्डलले अपेक्षा गरेभन्दा एक दिन ढिलो गरी विश्वले प्रविधिलाई कसरी चलाउनुपर्छ भन्ने विषयमा आफ्नो वक्तव्य जारी गर्न लागिएको सम्मेलन आयोजक भारतले जनाएको छ ।
भारतका प्रविधिमन्त्री अश्विनी वैष्णवले नयाँदिल्लीमा ‘एआई इम्प्याक्ट समिट’ मा हिजो पत्रकारसँग घोषणापत्रमा व्यापक सहमति जुटेको र अझै थप सहमतिका लागि प्रयास भइरहेको बताउनुभयो । अहिलेसम्म ७० भन्दा धेरै देशका हस्ताक्षरकर्ताले सहमति दिएका छन् । घोषणापत्र र यसको रूपरेखालाई आज सार्वजनिक गर्न लागिएको मन्त्री वैष्णवलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
नयाँ दिल्लीमा भएयो शिखर सम्मेलन द्रुत रूपमा विकसित भइरहेको एआई प्रविधिको प्रभावबारे छलफल गर्न चौथो वार्षिक अन्तर्राष्ट्रिय बैठक थियो, र विकासशील देशले आयोजना गरेको पहिलो हो । शिखर सम्मेलनमा एआई अनुवादको सामाजिक फाइदा, रोजगारी अवरोधको जोखिम र डाटा सेन्टरको भारी उर्जा खपतका बिषयमा पनि बहस भएको थियो । अर्को एआई शिखर सम्मेलन सन् २०२७ मा जेनेभामा हुनेछ ।
अमेरिकाले गएको वर्षको शिखर सम्मेलनको वक्तव्यमा हस्ताक्षर गरेको थिएन, र उसले हिजो भारतसँग आफ्नै द्विपक्षीय घोषणापत्र जारी गर्यो । दुवै देशले एआईका लागि विश्वव्यापी दृष्टिकोण अपनाउन सहमति गरेका छन् । भारतले यो शिखर सम्मेलनलाई एआई क्षेत्रमा अमेरिका र चीनसँग मिल्ने आफ्नो महत्वाकांक्षालाई अगाडि बढाउन प्रयोग गरेको छ ।
जसमा ठूलो मात्रामा डाटा सेन्टर निर्माण र नयाँ आणविक ऊर्जा प्लान्टहरू समावेश छन् । भारतमा गएको सोमवारदेखि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) शिखर सम्मेलन शुरू भएको थियो । भारतमा अल्फाबेटको गुगल, माइक्रोसफ्ट र अमेजनले सन् २०३० सम्ममा एआई र क्लाउड पूर्वाधार लगानीमा संयुक्त रूपमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।






