नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिनाको १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराइने उल्लेख छ । यसैगरी, सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवर्द्धन गर्न स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाइने पनि एमालेले प्रतिवद्धता जनाएको छ ।
युवा युद्धमीलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको डलर कार्ड उपलब्ध गराइने एमालेको घोषणा पत्रमा उल्लेख छ । ‘यस सुविधाले स्टार्टअप उद्यममा जोडिन चाहने युवाहरूलाई एआई (एआई), कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास तथा अन्य आईटी अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाई १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराइनेछ,’ घोषणा पत्रमा भनिएको छ, ‘विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकारको सेयर खरिद गर्न सक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाइनेछ।’सबै विद्यालयका किशोरीहरूका लागि निःशुल्क प्याड सहज रूपमा उपलब्ध गराइने र १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गरिने घोषणा पत्रमा उल्लेख छ ।
श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक २५ हजार पुर्याउने एमालेले प्रतिवद्धता जनाएको छ । ‘नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्यालादारी रोजगारीमा रहेका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिनेछ,’ घोषणा पत्रमा भनिएको छ ।
स्वास्थ्य स्वयंसेविकाहरूलाई थप प्रोत्साहन दिँदै वार्षिक रूपमा प्रदान गरिँदै आएको भत्ता बढाएर २० हजार पुर्याइने र सबै स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने एमालेले प्रतिवद्धता जनाएको छ । ‘२० लाखसम्म उद्यमी महिला, दीर्घजीवी ऋणी, २० हजार सुत्केरी महिला भत्ता र ५ लाखको निःशुल्क जीवन बीमा प्रदान गरिनेछ,’ घोषणा पत्रमा भनिएको छ, ‘महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत २० लाखसम्मको उद्यमशील महिला निष्कर्षजी ऋण सुविधा सहजरूपमा उपलब्ध गराइनेछ।
व्यवसायीक ऋणको निःशुल्क बीमा व्यवस्था गरिनेछ। गर्भवती महिलालाई सुत्केरी हुनुअघि नै स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ। घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गरिनेछ।’घट्दो जनसंख्या वृद्धिदर रोक्न सुत्केरी महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता प्रदान गरिने र गर्भवती महिलाका लागि ५ लाखसम्मको जीवन बीमा निःशुल्क गरिने एमालेले जनाएको छ । ‘राज्यद्वारा गरिब परिवारको रूपमा पहिचान भएका घरपरिवारले बैंक तथा वित्तीय संस्थाबाट २०८२ साल भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गरिनेछ। यस्ता सबै परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिनेछ,’ घोषणा पत्रमा उल्लेख छ ।
कृषिको उत्पादकत्व, विद्युत उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गरी अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रुपैयाँ र दस वर्षमा दुई सय खर्ब रुपैयाँ पुर्याउने एमालेको योजना छ । ‘प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर ३ हजार पुर्याउने लक्ष्यसहित सम्पूर्ण राष्ट्रिय स्रोत, साधन र सामर्थ्य परिचालन गरिनेछ।
समतामूलक द्रुत आर्थिक विकासबाट चरम गरिबीको अन्त्य गरिनेछ,’ घोषणा पत्रमा भनिएको छ, ‘कृषिको आधुनिकीकरण गर्दै यस क्षेत्रको अतिरिक्त श्रमशक्तिलाई शिक्षा, सीप र प्रविधि विकासमार्फत औद्योगिक र सेवा क्षेत्रमा स्थानान्तरण गरिनेछ। समष्टिगत आर्थिक तथा क्षेत्रगत नीतिहरूलाई लगानीमैत्री र उत्पादन सहयोगी तुल्याइनेछ। वित्तीय क्षेत्रको पूँजी उत्पादन क्षेत्रमा विनियोजन गरिनेछ। पूँजी बजारको विकास तथा सुदृढीकरण गर्दै थप आन्तरिक तथा बाह्य पूँजी परिचालन गरिनेछ।’
रोजगारीका थप अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता घटाइने एमालेले प्रतिवद्धता जनाएको छ । ‘उच्च आर्थिक वृद्धिबाट वार्षिक ४ लाख र सूचना प्रविधि क्षेत्रसमेत लक्षित कार्यक्रमबाट थप १ लाख गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गरिनेछ,’ एमालेले भनेको छ, ‘कृषि उत्पादनको आधुनिकीकरण, व्यावसायिक खेती, किसानहरूको सामूहिक खेती, करार खेती र खाद्य प्रशोधन उद्योग विस्तारबाट उल्लेख्य रोजगारी सिर्जना गरिनेछ। भौतिक पूर्वाधार निर्माण, सौर्य तथा वायु ऊर्जा, फोहोर व्यवस्थापनलगायत हरित उद्योगसम्बन्धी अभियान सञ्चालन गरी रोजगारी बढाइनेछ।’
भूमिहीन, सुकुम्बासी, कमजोर तथा न्यून आय भएका नागरिकका लागि सुरक्षित, सुलभ र सम्मानजनक आवास उपलब्ध गराइने एमालेले जनाएको छ । ‘सबै नेपालीलाई चौबीसै घण्टा सुरक्षित खानेपानी उपलब्ध गराउन दुई वर्षभित्र सबै घरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवा पुर्याइनेछ।
आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र सर्वसुलभ बनाइनेछ,’ घोषणा पत्रमा भनिएको छ,’सबै गाउँपालिकालाई सबै मौसममा चल्ने सडकले जोडिनेछ। जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गसँग जोडिनेछ।
विदेशमा रहेका गैरआवासीय नेपालीलाई ‘समृद्धि दूत’ का रूपमा परिचालन गरिनेछ। डायस्पोरा लगानीका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बण्ड’ जारी गरिनेछ। विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा गरिनेछ र लगानीबाट आर्जित नाफा फिर्ता लैजान पाउने कानुनी व्यवस्था गरिनेछ।’






