आज ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमसाथ देशभर मनाइएको छ । यसैक्रममा नेपाल सरकारको आयोजनामा टुँडिखेलको सैनिक मञ्चमा विशेष समारोह सम्पन्न भयो । सो अवसरमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, सहिदप्रति मौनधारण गरिएको थियो ।
नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ अंकित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं रङ्गीचङ्गी बेलुनहरू उडाइएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल स्काउटद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।

उपत्यकाका विभिन्न नगरपालिकाका तर्फबाट सांस्कृति झाँकी तथा लाखे नाच, तेक्वान्दो खेल प्रस्तुत गरिएको थियो ।राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता थियो ।
२००७ सालको क्रान्तिपछि १०४ वर्ष लामो निरंकूश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।







