दक्षिण कोरियाको उम्सङ क्षेत्रमा भएको भीषण आगलागीमा परी वेपत्ता भएका एक नेपाली युवाको मृत्यु भएको पुष्टि भएको छ। आगलागीस्थलबाट जलेको अवस्थामा फेला परेको शवको डिएनए परीक्षणपछि उक्त शव नेपाली नागरिककै भएको पुष्टि भएको हो।
प्राप्त जानकारीअनुसार मृतक विद्यार्थी भिसामा दक्षिण कोरिया आएका थिए र उनी दोलखा जिल्लाका स्थायी बासिन्दा रहेको खुलेको छ।
घटना भएको दोस्रो दिन आगलागीस्थलबाट एक जलेको शव फेला परेको थियो। शवको पहिचान खुल्न नसकेपछि कोरियाको राष्ट्रिय फरेन्सिक सेवा केन्द्र (National Forensic Service) मा डिएनए परीक्षणका लागि पठाइएको थियो।
मृतकले प्रयोग गर्दै आएका व्यक्तिगत सामानहरूसँग डिएनए परीक्षण गर्दा मेल खाएपछि सो शव नेपाली युवाकै भएको पुष्टि भएको सम्बन्धित निकायले जनाएको छ। उक्त दुःखद आगलागीको घटना गत जनवरी ३० तारिखका दिन भएको थियो।
घटनापछि लामो समयसम्म उनी सम्पर्कविहीन भएपछि परिवारजन तथा नेपाली समुदाय चिन्तित बनेका थिए।
यस घटनाले वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका नेपालीहरूको सुरक्षाका विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ। मृतकको शव नेपाल पठाउने प्रक्रिया तथा थप कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको जनाइएको छ।





