नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अघि विशेष महाधिवेशन पक्षधर नेताहरूले सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् ।कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठकअघि विशेष महाधिवेशनले बनाएको वार्ता समितिले देउवासँग छलफल गर्न लागेका हुन् । छलफलका लागि नेताहरू देउवा निवास पुगिसकेका छन् ।
महाराजगञ्जस्थित देउवाको अस्थायी निवासमा जारी छलफलमा सहमति नजुटेमा विशेष महाधिवेशन पक्षधर नेताहरू केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन् ।
पार्टीभित्र सहमति जुटाउने प्रयासस्वरूप विशेष महाधिवेशन गरिरहेका गगन-विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्यले देउवासँग वार्ता गर्दैछन् । संस्थापनसमक्ष विशेष महाधिवेशन पक्षले विभिन्न माग गरेका छन् । ती मागमा सहमति भए मात्र बैठकमा जाने उनीहरूको अडान छ ।
वार्ता समितिमा रहेका एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिँदै पास भएका डकुमेन्ट कार्यान्वयन हुनुपर्छ भन्ने माग राखिएको छ । यसैगरी पूर्ण रूपमा कार्यवाहक सभापतिका रूपमा पूर्णबहादुर खड्काले काम गर्न पाउनुपर्ने, देउवाले पार्टीको हरेक कदममा हस्तक्षेप नपाइने उनीहरूको माग छ ।
यस्तै, चुनावी गठबन्धन पटक्कै गर्न नहुने, (गोदावरीमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत डकुमेन्टहरू कार्यान्वयन हुनुपर्छ) लगायत विषयमा देउवासँग छलफल हुने उनले बताए ।






