
बाँके, बाँकेमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । बाँकेमा विहिबार साँझदेखि शुक्रबार विहान साढे सात बजेसम्म थप १५ जनाको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ७ जना गरि कुल १५ जनाले संक्रमणका कारण ज्यान गुमाएको हो ।
उपचारकै क्रममा ज्यान गुमाउनेहरुमा बाँकेका ८ र बाहिरी जिल्लाका ७ जना संक्रमित रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।
उमका अनुसार मृत्यु हुनेहरुमा स्वर्गद्वारी नगरपालिका–५ प्युठानका ४० वर्षीय पुरुष, घोराही उपमहानगरपालिका–५ दाङका ३५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१० का ७१ वर्षीय पुरुष, कालिमाटी गाउँपालिका–२ सल्यानका ३४ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० कैलालीका ४० वर्षीया महिला, गुलरिया नगरपालिका–६ बर्दियाका ५५ वर्षीया महिला रहेका छन् ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१३ बाँकेका ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–७ बाँकेका ४८ वषीय पुरुष, लम्कीचुहा नगरपालिका–३ कैलालीका ६७ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका–३ बाँकेका ३३ वर्षीय पुरुष, खजुरा गाउँपालिका–३ बाँकेका ६७ वर्षीय पुरुषको पनि कोभिड संक्रमणकै कारण उपचारका क्रममा निधन भएको ओलीले बताए ।
सोही प्रकारले कपुरकोट गाउँपालिका–४ सल्यानका ४४ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका–८ बाँकेका ५५ वर्षीया महिला, बैजनाथ गाउँपालिका–६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ–४ का ४३ वर्षीया महिलाको समेत संक्रमणकै कारण मृत्यु भएको छ ।







