
बाँके, बाँकेमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत संक्रमितहरुको गएरातीदेखि बुधबार बिहानसम्म मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरि १७ जना संक्रमितको उपचारमा क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–१८ बाँकेका ७३ वर्षीया महिला, गढवा गाउँपालिका–७ दाङका ३० वषीया महिला, सानोभेरी नगरपालिका–११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१२ बाँकेका ४१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८४ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–६ बाँकेका ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका–२ बाँकेका ५९ वर्षीया महिला, टिकापुर नगरपालिका–१६ कैलालीका २८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ बाँकेका ५८ वर्षीया महिला र नेपालगञ्ज उममहानगरपालिका–३ बाँकेका ६१ वषीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।
उनका अनुसार त्रिवेणी गाउँपालिका–१ रुकुम पश्चिमका २७ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–४ बाँकेका ६७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–४ बाँकेका ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–९ बर्दियाका ६३ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–१ बर्दियाका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–५ कैलालीका ६८ वर्षीया महिलाको पनि संक्रमणकै कारण मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५३ पुगेको र उपचारका लागि अन्य जिल्लाबाट आएका २०९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।







