
काठमाडौं, कोरोना संक्रमणबाट बाँके, पर्सा, चीतवन, धरान र मोरङमा थप ५ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
यस्तै तनहुँको आँबुखैरेनीका ३९ बर्षीय पुरुषको आज उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय पोखराले जानकारी दिएको छ । यसैबीच कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् एक कैदी आइसोलेसनबाटै भागेका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत् रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ ।






