अमेरिका–चीन व्यापार सम्झौतापछि एशियाली शेयर बजारमा वृद्धि
अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको उत्साहका कारण आज एशियाली शेयर बजारहरूमा उल्लेखनीय वृद्धि भएको छ ।
आज जापानको शेयर बजार सबैभन्दा धेरै बढेको छ । ‘निक्केई’ २ दशमलव ४६ प्रतिशतले बढेर पहिलो पटक ५० हजार अङ्क माथि पुगेको छ । त्यस्तै दक्षिण कोरियाको शेयर बजार ‘कोस्पी’ २ दशमलव ५७ प्रतिशतले बढेर पहिलो पटक ४ हजार अङ्क माथि पुगेको छ ।
त्यस्तै हङकङ, चीन, सिङ्गापुरको बजारमा पनि सकारात्मक कारोबार देखिँदा इन्डोनेशिया र फिलिपिन्समा भने थोरै गिरावट देखिएको छ । यो वृद्धिलाई विश्लेषकहरूले विश्वको सबैभन्दा ठूलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
यसैबीच अमेरिका र चीनबीच व्यापार सम्झौतामा प्रारम्भिक सहमति भएसँगै दुई देशबीच लामो समयदेखि चलिरहेको व्यापार युद्ध अन्त्य हुने सङ्केत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सम्झौताको अन्तिम रूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने आउँदो भेटमा तय हुने खबरमा उल्लेख छ ।ट्रम्पको एशिया भ्रमणका क्रममा मलेशियामा अमेरिका र चीनबीच सम्झौता भएको हो ।


प्रतिकृया दिनुहोस्