July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

आजबाट सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

आजबाट पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट मूल्य निर्धारण भएको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा सर्वसाधारणलाई आवेदन खुलेको छ । संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि बाँडफाँट भइसकेपछि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

फागुन १६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो । यसअघि प्रभावित स्थानीयका लागि खुलाइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता बिक्री नभएपछि सो समेत थप गरी सर्वसाधारणका लागि निष्कासन भएको हो ।

बुक बिल्डिङ पद्दतीबाट सर्वसाधारणका लागि कम्पनीको आईपीओ मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भएको छ । यो पद्दतीबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ । तसर्थ आईपीओ भर्न कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिन्छ । सो रकम बैंक खातामा मौज्दात नभएमा आवेदन नै रद्द हुन्छ ।