March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

सहकारीलाई स्वरोजगार मुखि बनाउन पूर्वाधार विकासमन्त्री प्रकाश देउवाको सुझाव

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । नवजीवन सहकारी जस्ता धेरै संस्था भए सरकार समेत बलियो हुने उहाँले बताउनुभयो ।

नवजीवन सहकारी संस्थाको धनगढीमा आयोजित ३० औं वार्षिक साधारणसभामा प्रमुख अतिथीको रुपमा बोल्नुहुँदै मन्त्री देउवाले उक्त कुरा बताउनु भएको हो । साथै उहाँले केही सहकारीले शेयर सदस्यको पैसा दुरुपयोग गरेका कारण सहकारी प्रति जनताको हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउनुभयो ।

अहिलेको समयमा सहकारीबाट कोही अलग रहन सक्दैन सबै सहकारीमा जोडिएका छन् । अब आर्थिक अवस्था कमजोर भएकालाई स्वरोजगारका कार्यक्रम ल्याएर स्वरोजगार बनाउनतर्फ लाग्न सुझाव दिनुभयो । यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य धर्मराज पाठकले सहकारी भनेको राज्यको पिल्लर भएको बताउनुभयो । यसको दायरा सरकारले बढाउनु पर्ने र यस क्षेत्रमा देखिएका समस्याहरुलाई सरकारले समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

संस्थाका अध्यक्ष देवबहादुर वमले नवजीवन सहकारीको ब्राण्डमा छिट्टै बजारमा चामल आउने र त्यसका लागि चार हजार आठ सय क्वीन्टल धान खरिद गरिसकेको बताउनुभयो । हाल संस्थाको बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा ११ वटा इकाइ कार्यालय रहेका छन् ।

माघ महिनामा दुई वटा डडेल्धुरा र काठमाडौंमा शाखा खोल्न अनुमति पाइसकेको समेत बताउनुभयो । २०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल ३२ हजार ७५४ जना शेयर सदस्य रहेका छन् । संस्थाले शेयर सदस्य सुत्केरी हुँदा १० हजार, मृत्यु संस्कारमा २० हजार र कुनै ठूलो अङ्ग प्रत्यारोपण गर्नु परे एक लाख सहयोग गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा २०८० असार मसान्तसम्म जगेडा तथा कोषमा ५५ करोड ५४ लाख रुपियाँ पुगेको जनाइएको छ । २०७९ असारसम्म सो कोषमा ५० करोड ८८ लाख रकम रहेको थियो । आर्थिक मन्दिका बावजुद पनि संस्थाको बचत सङ्कलनमा खासै असर परेको देखिदैन । गत वर्षको निक्षेप चार अर्ब नौ करोड १३ लाख ३० हजार रहेकोमा वृद्धि भइ २०८० साल असार मसान्तसम्म चार अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप सङ्कलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

विसं. २०८० असार मसान्तसम्म संस्थाको नगद र बैंक मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको छ । संस्थाले प्रतिशेयर १२ प्रतिशतका दरले पूरा वर्षको लाभांश वितरण गर्ने जनाइएको छ । आर्थिक वर्ष २०८०/८१ को नाफाबाट तीन करोड २६ लाख ५२ हजार रकम लाभांश भुक्तानी गर्ने प्रस्ताव पेश गरिएको प्रतिवेदनमा उल्लेख छ ।कार्यक्रममा पूर्व सांसद एवम् नवजीवनका सल्लाहाकार महेस्वर पाठक, धनगढी उपमहानगरका उपप्रमुख कन्दला कुमारी राना, पूर्नरबास नगारपालिकाका प्रमुख लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको