December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

नेपाल वेयरहाउ जिङ कम्पनीको प्राथमिक सेयर – आईपीओ खुल्यो

नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा सर्वसाधारणका लागि आवेदन खुलेको छ । मंसिर १३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत बाँडफाँट गरिसकेको छ ।

अब ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
इच्छुक सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् ।

कम्पनीको मुख्य बिजनेस :

किसानका अन्नबाली, उद्योग तथा मिलहरुका खाद्यान्न सामाग्री लामो समयसम्म भण्डारण गर्नका लागि आधुनिक प्रविधियुक्त गोदामको सेवा यस कम्पनीले प्रदान गर्दछ । त्यस्तै आधुनिक प्रविधिबाट खाद्यान्नको सफाई तथा केलाई गर्ने, खाद्यान्नहरुको प्रयोगशालामा गुणस्तर परीक्षण गर्ने, खाद्यान्नको तापमान नियन्त्रण गर्नेजस्ता कार्य कम्पनीले गर्दछ । यसरी लामो समयसम्म कृषि तथा औद्योगिक उत्पादन भण्डारण गरिएपछि ती उत्पादनले उचित मूल्य पाउने छ ।

काठमाडौंको सिनामंगलमा यसको रजिस्टार कार्यालाय सञ्चालनमा छ भने मुख्य शाखा सुनसरीको गढी गाउँपालिकामा अवस्थित छ । त्यस्तै कपिलबस्तु र पर्सा जिल्लामा पनि शाखा कार्यालयहरु सञ्चालनमा रहेको विवरणपत्रमा उल्लेख छ ।

सुनसरीमा १५ हजार, कपिलवस्तुमा १५ हजार र पर्सा जिल्लामा २५ हजार मेट्रिकटन गरी कुल ५५ हजार मेट्रिक टन क्षमताको वेयरहाउजिङ सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनी रजिस्टार कार्यालयबाट कम्पनीले २०७५ चैत ३ गते कारोबारको अनुमति पाएको छ ।

कम्पनीले भण्डारण गरेको उत्पादनको परिमाण तथा मूल्यका आधारमा वित्तीय संस्थाबाट किसान तथा उद्योगीलाई कर्जा प्रवाहमा सहजीकरण गर्ने, बजार निर्माणमा सहजीकरण गर्ने तथा ढुवानीका क्रममा समेत गुणस्तरमा नोक्सान नपर्नेगरी आधुनिक प्रविधियुक्त ट्रकमार्फत सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ । उत्पादनको भण्डारण, बजारीकरण, ढुवानी, वित्तीय सहजीकरणजस्ता सेवा प्रदान गर्दा कम्पनीले लिने शुल्क नै मुख्य आम्दानी हुनेछ ।

कम्पनीको वित्तीय स्थिति :

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालु आर्थिक वर्षबाट भने नाफामा जाने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्म कम्पनीको सञ्चित नोक्सान ७ करोड ९४ लाख रुपैयाँ बराबर छ । कम्पनी चालु आर्थिक वर्ष २०८०/८१ मा पनि सञ्चित नोक्सानी कायम रहेन प्रक्षेपण गरेको छ । चालु वर्षको असार मसान्तसम्म सञ्चित नोक्सानी ४ करोड ९५ लाख रुपैयाँ रहने अनुमान छ ।

गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ५५ पैसा छ । परियोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहने अनुमान छ ।

शीर्ष समाचार

धेरै पढिएको