December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

अर्थमन्त्री शर्माद्वारा खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान

file photo

काठमाडौं, कोरोनाविरुद्धको खोप खरिदका लागि सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ ।

बुधबार नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन् ।

यस्तै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मङ्गलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने गर्ने पहिलो निर्णय गरेको थियो ।

अर्थमन्त्री शर्माले कोरोना नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरेका छन् ।

जसअन्तर्गत सङ्घीय अस्पतालका लागि रु. ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत रु. ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार सरकारी तथा निजी अस्पतालमा एचडियू, भेन्टिलेटर, आइसियूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि सङ्घीय तथा निजी अस्पताललाई रु. ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत रु. ५२ करोड ४४ लाख ४० हजार वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको