
काठमाडौं, ३१ जेठ ।सेयर बजारमा ऐतिहासिक रेकर्ड ब्रेक भएको छ । सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।
यसअघि गत आइतबार नेप्से परिसूचक अधिकतम २९८३ विन्दुमा पुगेको थियो । आज क वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ । यस दिन कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर एक लाख ७५ हजार ४११ पटक किनबेच हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको छ । यद्यपि यो गत दिन (आइतबार) को भन्दा डेढ अर्ब कम कारोबार हो ।
गत आइतबार एकैदिन अधिकतम १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानीका समूहहरु धनात्मक भएका छन् भने, व्यापार, विकास बैंक, हाइड्रो, माइक्रो फाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु ऋणात्मक भएका छन् ।







