November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

डिम्याट खाताको सङ्ख्या ३५ लाख नाघ्यो, मेरो सेयर खाता सङ्ख्यामा साढे ३ गुणा वृद्धि

काठमाडौं, पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा वृद्धि भएसँगै डिम्याट खाता खोल्नेको संख्यामा पनि वृद्धि भएको छ ।

हाल डिम्याट खाताको सङ्ख्यामा शतप्रतिशत वृद्धि भई ३५ लाख नाघेको छ । एक वर्षकै अवधिमा मेरो सेयर खाताको सङ्ख्या साढे तीन गुणाले बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अनुसार २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो सेयर खाताको सङ्ख्यासमेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणाभन्दा बढी वृद्धि भई हाल करिब २६ लाख पुगिसकेको छ ।

धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्कासनमा करिब १८ लाखले आवेदन दिने गरेको बोर्डको भनाइ छ ।

यसैगरी धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजारले युजर आईडी लिएकामा यस अवधिमा उक्त सङ्ख्यामा उल्लेखनीय वृद्धि (करिब १७ गुणाभन्दा बढी) भई करिब छ लाख ६० हजार रहेको छ भने औसतमा छ लाख लगानीकर्ता कारोबारमा सक्रिय रहेको देखिएको छ ।

यसले पुँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको बोर्डको भनाइ छ । २०७७ साल असारसम्ममा डिम्याट खाता खोल्नेको सङ्ख्या १७ लाख रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको