October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

एकैदिन ४५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४५ अंक भन्दा धेरैले घटेको छ । अघिल्लो दिनको तुलनामा १.६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ८२.६८ विन्दुमा ओर्लेको छ । गत बिहीबार सामान्य अंकले ऋणात्मक रहेर बन्द भएको नेप्से आइतबार करिब साढे १२ अंकले बढेको थियो । बढिरहेको बजारमा केही अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षण गर्न चाहेकाले सोमबार बजार घटेको रुपमा विश्लेषण गरिएको छ । सोमबारको गिरावटलाई विज्ञहरुले करेक्सनको संज्ञा दिएका छन् ।

बढिरहेको बजारमा करेक्सन भएकाले आगामी दिनमा अझै सकारात्मक दिशामा अघि बढ्ने उनीहरुको दाबी छ । सोमबारको गिरावट गत वैशाख १३ यताकै उच्च हो । गत वैशख १३ मा नेप्से ६५.५८ अंकले घटेको थियो । पछिल्लो समय शेयर बजारमा देखिएको कारोबार रकमको उत्साह भने यो दिन पनि कायमै रहेको छ ।

आइतबारको तुलनामा भने सोमबार कारोबार रकम भने घटेको छ । आइतबारको तुलनामा सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सो दिन करिब डेढ लाख कारोबारबाट २ सय १८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा १३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार रुपैयाँ परिचालन भएको थियो । नेप्से परिसूचक घटेपछि कूल बजार पुँजीकरण पनि ३८ खर्ब ६१ अर्ब रुपैयाँमा सीमित भएको छ ।

सोमबार कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको परिसूचक घटे । तर, सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.२४ प्रतिशतले सकारात्मक छ । उक्त दिन जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.३१ प्रतिशत घटेको छ । यसैगरी, बैंकिङ उपसमूहको परिसूचक १.०१ प्रतिशत, व्यापारको ३.७९ प्रतिशत, होटल्स तथा पर्यटनको ०.०२ प्रतिशत, विकास बैंकको १.५४ प्रतिशत, वित्त कम्पनीको ०.७४ प्रतिशत, निर्जीवन बीमाको २.५७ प्रतिशत, लघुवित्तको ०.१९ प्रतिशत, जीवन बीमाको १.९३ प्रतिशत र लगानी समूहको ०.९५ प्रतिशत परिसूचक घटेको नेप्सेले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको