
काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरूमा पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न स्थानीय तहलाई आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्याञ्जू र गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरूमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह सो आग्रह गरेका हुन् ।
स्थानीय तहहरूमा पुगेको रकममध्ये १२६ अर्ब रुपियाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरेका छन् ।
उनले कोभिड–१९ बाट अति प्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरे । भेटमा अर्थमन्त्री पौडेलले स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पनि प्रभावकारी र उत्पादनमूलक बनाउन आग्रह गरे ।







