
काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ ।
एक महिनाको अवधिमा ८०१ फारामको अनुगमन गर्दा १३७ फारामलाई जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताएका छन् । अनुगमनका क्रममा रु ९८ हजार ७८२ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तुको नष्ट गरिएको थियो ।
उनका अनुसार सो अवधिमा १०४ फारामलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न, २२ फारामको कारोवार रोक्का तथा सिलबन्दी गरिएको र छ जना व्यक्ति तथा साधनलाई नियन्त्रणमा लिइएको थियो । यसैगरी ४८४ फाराममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।
विभागको तथ्याङ्कअनुसार गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्येमा सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ । ३३ वटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारवाही गरिएको थियो ।
कारवाहीबाट रु १४ लाख ६२ हजार राजश्व सङ्कलन भएको छ । यसैगरी फूलफूल तथा तरकारीपछि सबैभन्दा धेरै कारवाही पानी उद्योगलाई गरिएको छ । ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारवाही गर्दा रु १४ लाख जरिवाना सङ्कलन भएको विभागले जनाएको छ ।







