
काठमाडौं, नेपाल राष्ट्र बैङ्कले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैङ्क तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले पोखरामा आयोजना गरेको नेपाल राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिसम्बन्धी बैङ्क तथा वित्तीय संस्थासँग पर्यटन व्यवसायीले उक्त गुनासो गरेका हुन् ।
कोरोना महामारीका कारण पर्यटन क्षेत्र अति संवेदनशील क्षेत्रमा राखे पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण तथा ब्याज चुक्ताका लागि लगातारको दबाबले समस्यामा पारेको व्यवसायीको गुनासो छ ।
व्यवसायीको गुनासो आएपछि नेपाल राष्ट्र बैङ्क पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईले मौद्रिक नीतिका आधारमा रहेर काम गर्न बैङ्क तथा वित्तीय संस्थालाई सो क्रममा निर्देशन दिएका छन् । उनले भने, “सक्ने उद्यमीले कर्जा तिरीदिनुहोस्, नसक्ने उद्यमीको हितका लागि सरकारले दिएको सीमासम्म ताकेता नगर्नुहोस् ।”
नेपालमा बैङ्क तथा वित्तीय क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै रु १४० अर्ब लगानी रहेको भन्दै भट्टराईले यसलाई जोगाउने दायित्व सबै पक्षको रहेको बताए । उनका अनुसार गण्डकी क्षेत्रमा क, ख, ग वर्गका मात्र ७२६ वटा शाखा छन् ।
प्रत्येक शाखाले कम्तीमा पाँच जनालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्नेछ । सोअनुरुप आवश्यक प्रक्रिया गर्न सुझाव दिँदै उनले अतिप्रभावित व्यवसायीलाई ऋण उपलब्ध गराउन सकिने बताएका छन् ।







