सनी लियोनीलाई ‘वर्क परमिट’ दिन बंगलादेशद्वारा पुनः अस्वीकार

काठमाडौं, बंगलादेशले बलिउड अभिनेत्री सनी लियोनीलाई ‘वर्क परमिट’दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो । बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन् ।
सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने उनिहरुले चेतावनी दिएका छन् ।

बंगलादेशले उनलाई यसअघि सन् २०१५ मा पनि ‘वर्क परमिट’दिएको थिएन । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ ।

सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो । बंगलादेश सरकारले सनीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि ‘वर्क परमिट’दिइसकेको छ ।एजेन्सी