
काठमाडौं, मुलुकको चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायक परिवर्तन गरेको हो ।
अबको नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । उक्त शोको सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए । उनीहरु अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सिजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।
यसैगरी नेपाल आइडलको सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।
यस्तै चौथो संस्करणको गायन रियालिटी शो ‘नेपाल आइडल’ को डिजिटल अडिसन शुरू भइसकेको छ भने भदौ १ गतेदेखि सुरू भएको डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलका अनुसार कोरोनाको कहरबीच अडिसन गर्न ठाउँ ठाउँमा पुग्न गाह्रो भएकाले डिजिटल अडिसन शुरु गरिएको हो ।डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने छन् ।







