April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

तराईमा गर्मी बढ्दै,विद्यालय बिदा लम्बियो

नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम बढ्दै गएको छ । तातो हावा चल्ने क्रम नरोकिएपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले अझै केही दिन तातो हावा चल्ने हुँदा सोही बमोजिम गर्न गराउन भन्दै सार्वजनिक सुचना निकालेपछि पालिकाहरुले बिदा लम्ब्याएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा गर्मी झनै बढेको जनाउदै जेठ २६ गते शुक्रबारसम्म बिदा थप गरेको थियो । तर, गर्मी बढ्दै गएपछि शुक्रबार फेरी सूचना निकालेर जेठ ३० गतेसम्म बिदा थप गरिएको जनाइएको छ ।

नेपालगञ्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जिल्ला प्रशासन कार्यालयको आग्रह र बढ्दो गर्मीलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टी हुने गरी जेठ ३० गतेसम्म बिदा थप गरिएको बताउनुभयो ।प्रमुख थापाले दिन प्रति दिन गर्मी बढ्दै जाँदा विद्यार्थीहरु बिरामी पर्न थालेपछि बिदा थप गरिएको थापाले बताउनुभयो ।

साथै जेठ ३१ गते बुधबारदेखि विद्यालय सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय गरी बिहानी सत्रमा मात्र विद्यालय सञ्चालन गर्न पनि उपमहानगरले आग्रह गरेको छ ।यसैगरी कोहलपुर नगरपालिका, खजुरा, जानकी र बैजनाथ गाउँपालिकाले पनि गर्मीका कारण विद्यालय बिदा थप गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको