
काठमाडौं, कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो ।
यस वर्षको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी थिए ।
एसईई परीक्षा प्रकाशन पूर्वतयारीस्वरूप मंगबार बोर्डले ‘डेमोस्ट्रेसन’समेत गरेको छ । बोर्डका एक अधिकारीका अनुसार नतिजा बुधबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ ।
यसैगरी एसईई परीक्षामा सहभागी कुनै परीक्षार्थीले ३५ प्रतिशत प्राप्त नगरे फेल हुने भएको छ । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था छ ।
निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न अयोग्य मानिने भएको छ ।







