
काठमाडौं, सरकारले परीक्षा सञ्चालनका गर्ने अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् ।
विश्वव्यापी महामारी कोरोना भाइरसको सङ्क्रमणकै बीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भए पनि कक्षा १२ को स्थगित परीक्षाको अन्योल अझै हट्न नसकेको बेला यस्तो धारणा आएको हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिन तयारी अवस्थामा रहेको बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।
यसैगरी कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पूर्ण रूपमा खोप लगाउन पाएको अवस्थामा परीक्षा निर्वाध रूपमा सञ्चालन हुन सक्ने विश्वास आफूहरूमा रहेको उनको भनाइ छ । परीक्षाको अनुमति पाएपछि १५ दिनको सूचना दिएर परीक्षाको कार्यतालिका निकाल्ने योजना बोर्डले बनाएको छ ।






