
आधिकारिक नेपाली भाषाको प्रयोग सहज बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानले मोबाइल एपको विकास गरेको छ । अब नेपाली शब्दको शुद्धता र त्यसको अर्थ पत्ता लगाउन शब्दकोशको ठेली पल्टाउन नपर्ने भएको छ । निःशुल्क डाउन गर्न सकिने र एक पटक डाउनलाेड गरे पछि इन्टरनेट भएको ठाउमा पनि उक्त एपबाट अध्ययन गर्न सकिनेछ ।नेपाली बृहत् शब्दकोशकाे याे एप इन्टरनेट नहुँदा पनि प्रयोग गर्न सकिन्छ ।
२०४० सालमा पहिलोपटक प्रकाशित भएपछि अहिलेसम्म १० पटक परिमार्जन गरिसकिएको छ । पछिल्लो संस्करण यस एपमा समेटिएको छ । आधारिक निकायले तयार पारेको शब्दकोशको यो भने पहिलो एप हो । यसमा ६० हजार शब्द संकलित छन् । नयाँ शब्द पनि विस्तारै समावेश गर्दै जानेछ । मोबाइलमा युनिकोडमा टाइप गरेपछि शब्द फेला पार्न सकिन्छ ।
असार ३० गतेदेखि याे एप औपचारिक प्रयोगमा आएको हाे । एक लाख ५० हजारभन्दा बढी शब्द भएको प्रज्ञा बृहत शब्दकोशको तयारी पनि भइरहेको प्रतिष्ठानले जनाएको छ ।





