
काठमाडौं, कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । आज प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोप व्यवस्था गर्न निर्देशन दिएको हो ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।
परीक्षाअघि नै परीक्षणको व्यवस्था गर्न र संक्रमण देखिएर सहभागी हुन नसक्ने अवस्था भएमा दोस्रो चरणमा परीक्षा दिने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।
‘४ लाख विद्यार्थी छन् । उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ । साउन ३१ गतेबाट परीक्षा हुने भएकाले अझै समय छ’ समितिकी सभापति जयपुरी घर्तीले भनिन् ।
बढी विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्न कठिनाइ हुने अवस्थामा केन्द्रको संख्या बढाउन पनि सरकारलाई समितिले सुझाव दिएको छ ।







